
२९ साउन, सोल ।
अवैधानिक विदेशी कामदार बढेपछि दक्षिण कोरियाको अध्यागमन विभाग र प्रहरीले धरपकड अभियान तिब्र पारेका छन् । अध्यागमन कर्मचारी र प्रहरीको संयुक्त टोलीले अवैधरुपले बसेका एघार जना नेपाली कामदारलाई पक्राउ गरेको छ ।
बुधवार ख्यांगी प्रान्तको आन्सान हाङजी अपार्ट नजिकै रहेको एउटा कम्पनीमा प्रहरीले छापा मारी चार नेपालीलाई पक्राउ गरेको छ ।
ती मध्ये दुइ जना रोजगार अनुमति प्रणाली इपिएस मार्फत आएर भिषा अवधि सकिएका हुन् भने अन्य दुई जना डिपेन्डेन्ट भिषा मार्फत आएका बुझिएको छ । सो कम्पनीमा झण्डै चार साता अघि अवैधानिकरुपमा बसेर काम गर्दै आएका कास्कीका भविश्वर गुरुङको मृत्यु भएको थियो । यसैगरी ख्याङसङ प्रान्तको थेगुबाट सात जना नेपाली कामदार पक्राउ परेका छन् । जसमा चार पुरुष र तीन महिला छन् ।
पछिल्लो समयमा कोरियामा भिषा अवधि सकेर अवैधानिक रुपमा बस्ने नेपालीको संख्या बढिरहेको छ । जसका कारण नेपाली कामदारको कोटा घट्ने हो कि भनेर नेपाल सरकारले चिन्ता ब्यक्त गर्दै भिषा सकिएपछि स्वदेश फिर्ता हुन आग्रह गर्दै आएको छ ।
कोरियामा अवैधानिकरुपमा बसेका नेपालीको यकिन तथ्याङ्क नभएपनि झण्डै दुुइ हजार जति रहेको अनुमान छ ।


0 comments:
Post a Comment